स्याङ्जाको भीरकोटमा युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृति ‘मुनाल (बतासे प्रेम)’ सार्वजनिक गरिएको छ । शनिबार भीरकोट नगरपालिका–७ बलमाटास्थित कालिका पुस्तकालयको सभाकक्षमा कृति लोकार्पण, परिचर्चा तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
भीरकोट नगरपालिका–७ वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा युवा स्रष्टा मिलन समीर, शम्भु अर्याल, मनिषा कोइराला तथा लेखक स्वयंले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए । त्यसपछि वक्ताहरूले कृतिमाथि समीक्षात्मक धारणा राखेका थिए ।
नेपाली लेखक सङ्घ स्याङ्जाद्वारा प्रकाशित कृतिमा ८३ वटा मुक्तक समेटिएका छन् । पुस्तकको सम्पादन मिलन समीरले गरेका हुन् । पुस्तकमा समसामयिक विषयवस्तुमा आधारित मुक्तकसँगै स्केच चित्रहरू समेत समावेश गरिएको छ ।
कार्यक्रममा स्याङ्जाली स्रष्टाहरू नुवादत्त अर्याल, लेखबहादुर केसी ‘किरण’, यामप्रसाद अधिकारी (लक्ष्मण), छायाराम खनाल, वसन्त खनाल, दिलीप तिवारी, खगेन्द्रजंग थापा, डिल्लीराम भण्डारी, अमित सुनार, सुदीक्षा सुनार, सक्षम रोका, उषा सुनार, इशाना रोका, सरगम थापा, गुरुप्रसाद ढकाल, चण्डिकाप्रसाद भट्टराई, हरिप्रसाद पङ्गेनी, बबिन पाठक, लीला रेग्मी, लेखनाथ काफ्ले, पारिश्वर न्यौपाने र ध्रुवप्रसाद शर्मा पङ्गेनीले आफ्ना रचना वाचन गरेका थिए ।
वक्ताहरूले भीरकोटमा पछिल्लो समय साहित्यिक गतिविधि बढ्दै गएको उल्लेख गर्दै युवा पुस्ताको सिर्जनशील यात्रालाई निरन्तरता दिन आग्रह गरेका थिए ।





