युवा लेखक तथा पत्रकार वसन्त पराजुलीको चर्चित उपन्यास ‘बखान’ माथि स्याङ्जाको वालिङमा साहित्यिक विमर्श गरिएको छ ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा आइतबार वालिङ बजारस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्टमा कार्यक्रम गरिएको हो ।
उपन्यास ‘बखान’ प्रजातन्त्र सेनानी बखानसिंह गुरुङको जीवन संघर्षमा आधारित कृति हो । यसमा चितवनको तत्कालीन सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक अवस्थालाई कथामार्फत प्रस्तुत गरिएको बताइएको छ ।
कृतिमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले ‘बखान’ केवल जीवनी नभई इतिहासको एउटा महत्त्वपूर्ण कालखण्डको दस्तावेजजस्तै रहेको बताए । उनले सात सालको क्रान्ति, त्यसबेलाको जनजीवन, सहकारी अभियान, चितवनको बस्ती विकास र राजनीतिक परिवेशलाई उपन्यासले जीवन्त बनाएको धारणा राखे ।
लेखक पराजुलीले ऐतिहासिक पात्र र घटनालाई उपन्यासमा उतार्नु चुनौतीपूर्ण भए पनि आफूले जोखिम मोलेर कृति तयार पारेको बताए । बखानसिंह गुरुङले चितवनको विकास, सहकारी स्थापना र राजनीतिक चेतनामा पुर्याएको योगदानलाई पुस्तकमा समेट्ने प्रयास गरिएको उनको भनाइ थियो ।
कार्यक्रमको सहजीकरण कवि तथा निबन्धकार शम्भु अर्यालले गरेका थिए । लेखक पराजुलीका यसअघि कुमाता, मोम्चो र ड्रीमी आइज कथासंग्रह प्रकाशित भइसकेका छन् ।





