स्याङ्जाको भीरकोट नगरपालिकाले आफ्नै भव्य र सुविधासम्पन्न प्रशासनिक भवन प्राप्त गरेको छ । सिद्धार्थ राजमार्गस्थित भीरकोट-१ दार्सिङ्मा निर्मित सो भवनको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीय तहको स्थायित्व र सेवा प्रवाहमा यो भवनले कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भौतिक पूर्वाधारको विकाससँगै सेवा प्रवाहमा गुणस्तर ल्याउनु अबको मुख्य चुनौती रहेको बताए । "नयाँ भवनबाट सेवाग्राहीले झन्झटरहित र छिटोछरितो सेवा पाउनुपर्छ," उनले भने, "प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गरेर विकासका काम अघि बढाउन सधैं तत्पर छ ।"
पालिकाको प्रशासकीय भवन निर्माणका लागि नियमअनुसार बोलपत्र आह्वान गर्दा गजिन्द्र निर्माण सेवाको ठेक्का स्वीकृत भई ७ करोड ३८ लाख ४४ हजार ६ सय १० रुपैयाँमा सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताए ।
भवन निर्माणका लागि संघीय सरकारबाट २ करोड ६७ लाख, गण्डकी प्रदेश सरकारबाट २ करोड, जिल्ला समन्वय समितिको मौज्दात कोषबाट ६२ लाख र १ करोड ९२ लाख रुपैयाँ नगरपालिकाले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेको हो ।
यो भवनको जग तत्कालीन नगर प्रमुख छायाराम खनालले २०७५ साल असोज ३० गते राखेका थिए । २०७५ कात्तिक ५ गतेबाट निर्माण सुरु भएको यो भवन २०७७ पुसमा सम्पन्न भएको थियो भने माघदेखि नै कार्यालय सञ्चालनमा आएको थियो । यद्यपि, विविध कारणले औपचारिक उद्घाटन भने शुक्रबार मुख्यमन्त्रीको हातबाट गरिएको हो ।
नगरपालिकाका अनुसार ६ रोपनी ८ आनामा बनेको यो नयाँ भवन अपाङ्गमैत्री, नागरिकमैत्री र प्रविधिमैत्री बनाइएको छ । ९ वटा वडा रहेको यस नगरपालिकाको प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउन नयाँ भवनले ठूलो सहयोग पुग्ने बताइएको छ ।
१२ मिटर उचाई, करिब १६ मिटर चौडाइ र ३४ मिटरभन्दा बढी लम्बाइ रहेको यस भवनमा कुल ९ वटा शौचालय र २५ वटा कोठाहरू रहेका छन् । भवनमा कार्यपालिकाको बैठक हल, विभिन्न शाखाका छुट्टाछुट्टै कक्षहरू र सेवाग्राहीका लागि प्रतीक्षालय सहितका आधुनिक सुविधाहरू रहेका छन् ।
यो भवन निर्माणका लागि स्थानीय ५ जना जग्गादाताले ५ रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । जग्गा दान गर्नेहरूमा स्व. भीमलाल कर्माचार्य, वर्तमान नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, फत्त बहादुर केसी, इन्द्र बहादुर केसी र रुद्र बहादुर केसी रहेका छन् । भवन उद्घाटनका अवसरमा जग्गादाता तथा नगरपालिकाका संस्थापक नगर प्रमुख छायाराम खनाललगायतलाई सम्मान गरिएको थियो ।
साविकका दार्सिङ दहथुम, खिलुङ देउराली, ढापुक सिमलभञ्ज्याङ र बानेथोक देउराली गाविसहरूलाई मिलाएर २०७२ सालमा स्थापना गरिएको यस नगरपालिकाको केन्द्र दार्सिङ्मा रहेको छ ।





