Syangja Dainik Media
आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा

स्याङ्जाको आँधीखोला गाउँपालिकाले सुन्तला र कागती खेती विस्तार गर्ने उद्देश्यसहित किसानलाई अनुदानमा बिरुवा वितरण सुरु गरेको छ । गाउँपालिकाले “आँधीखोलाको पहिचान, सुन्तला र कागती अभियान” नारासहित ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको जनाएको हो ।

गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार किसानलाई बिजु बिरुवा ३५ रुपैयाँ र कलमी बिरुवा ७५ रुपैयाँमा वितरण गरिएको छ । किसानको मागलाई आधार बनाएर दुवै प्रकारका बिरुवा उपलब्ध गराइएको पौडेलले बताए ।

पालिकाले वडा नम्बर १ पञ्चमुलका किसानले उत्पादन गरेका बिरुवा नर्सरीमार्फत खरिद गरी वितरण गरेको जनाएको छ । बिजु बिरुवा प्रतिगोटा ७० रुपैयाँमा खरिद गरिएको भने कलमी बिरुवा भीरकोट नगरपालिका–१ बयरघारीबाट प्रतिगोटा १५० रुपैयाँमा ल्याइएको जानकारी दिइएको छ ।

पहिलो चरणमा १८ हजार बिरुवा किसानलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कुल ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिकाका वडा नम्बर २ चिलाउनेवास र वडा नम्बर ६ फापरथुमलाई सुन्तलाका पकेट क्षेत्रका रूपमा चिनिन्छ । साथै वडा नम्बर १, ३, ४ र ५ मा पनि सुन्तला तथा कागती खेतीको राम्रो सम्भावना रहेको पालिकाले जनाएको छ ।

यसपटक स्थानीय जातका सुन्तला र ‘सुन कागती–२’ प्रजातिका बिरुवा किसानलाई वितरण गरिएको हो । गाउँपालिकाले यस क्षेत्रको हावापानी सुन्तला तथा कागती खेतीका लागि उपयुक्त रहेको उल्लेख गर्दै व्यावसायिक खेतीतर्फ आकर्षित हुन किसानलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update