Syangja Dainik Media
कृषिलाई केन्द्रमा राख्दै आँधीखोलाको नयाँ नीति, खेतबारीमै पुग्ने पालिका

स्याङ्जाको आँधीखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषिलाई विशेष प्राथमिकतामा राख्दै किसानमुखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको उन्नाइसौं गाउँसभामा अध्यक्ष विश्वनाथ पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘कृषक अनुकूलन परिस्थिति, खेतबारीमा हाम्रो उपस्थिति !’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने गरी विभिन्न कार्यक्रम अघि सारिएका छन् ।

गाउँपालिकाले कृषि, पर्यटन, सेवा, विकास, सुशासन र समृद्धिलाई समेटेर आगामी वर्षको नीति तय गरेको भए पनि सबैभन्दा बढी जोड कृषि क्षेत्रमै दिइएको छ । उत्पादन बढाउनेदेखि बजारीकरण, यान्त्रीकरण, सिँचाइ, बीमा, अनुदान र प्रविधि विस्तारसम्मका कार्यक्रम समेटिएका छन् ।

पालिकाले अब उत्पादनका आधारमा कृषकलाई अनुदान दिने व्यवस्था गर्ने भएको छ । किसानको खेतबारी र गोठसम्म प्राविधिक सेवा पुर्‍याउने, कृषि यन्त्र तथा आधुनिक प्रविधिमा लागत साझेदारी गर्ने र किसानलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

स्थानीय स्तरमा सुन्तला, कागती, किवी, ड्रागन फ्रुट, एभोकाडो, अकबरे खुर्सानी, कफी, केरा, कुरिलो लगायतका उच्च मूल्यका बालीको व्यावसायिक उत्पादन विस्तार गरिने भएको छ । ‘आँधीखोलाको पहिचान, सुन्तला–कागती अभियान’लाई थप प्रभावकारी बनाउँदै बाँझो जमिन उपयोग गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ ।

कृषि उत्पादन वृद्धि गर्न साना तथा मझौला सिँचाइ आयोजना, थोपा सिँचाइ, पाइपलाइन विस्तार र परम्परागत कुलो मर्मतलाई प्राथमिकता दिइनेछ । माटो परीक्षण, बाली उपचार शिविर, रोग तथा किराको पहिचान र नियन्त्रणका लागि प्रयोगशाला सेवासमेत विस्तार गरिने भएको छ ।

किसान सूचीकरण कार्यक्रमलाई निरन्तरता दिँदै किसान परिचयपत्रलाई सेवा तथा सहुलियतसँग जोडिनेछ । कृषि सेवाहरूलाई क्रमशः डिजिटल बनाउँदै कृषि सूचना तथा बजार व्यवस्थापन प्रणाली (कृषि एप) सञ्चालन गर्ने योजना पनि पालिकाले अघि सारेको छ ।

महिला र युवालाई कृषि तथा पशुपालनतर्फ आकर्षित गर्न मौरीपालन, च्याउखेती, पुष्प व्यवसाय, व्यावसायिक पशुपालन र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिनेछ । साथै दुग्ध उत्पादन, पशु स्वास्थ्य सेवा, कृत्रिम गर्भाधान तथा पशुजन्य उत्पादनको बजारीकरणमा समेत विशेष जोड दिइएको छ ।

कृषकहरूले लामो समयदेखि भोग्दै आएको बाँदर आतंक नियन्त्रणलाई पनि पालिकाले आगामी वर्षको प्राथमिकतामा राखेको छ । यसका लागि प्रभावकारी कानुनी व्यवस्था बनाउन सम्बन्धित निकायसँग समन्वय गरिने उल्लेख गरिएको छ ।

यस्तै, ‘कि आफैँ खेती गरौं, नभए जग्गा लिजमा दिऔं’ भन्ने अवधारणाअनुसार भूमि बैंक स्थापना गर्ने, सामूहिक खेती प्रवर्द्धन गर्ने तथा कृषि सहकारीमार्फत उत्पादन र बजारीकरणलाई जोड्ने नीति पनि अघि सारिएको छ ।

गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष विश्वनाथ पौडेलले आँधीखोलाको विकासको आधार कृषि नै रहेको उल्लेख गरे ।

“हामीले नीति तथा कार्यक्रम बनाउँदा यहाँको माटोको सुगन्ध, किसानको पसिना र आँधीखोलाको समृद्धिको सपना केन्द्रमा राखेका छौं,” अध्यक्ष पौडेलले भने, “कृषिलाई आयआर्जन र रोजगारीसँग जोडेर गाउँमै अवसर सिर्जना गर्ने हाम्रो मुख्य लक्ष्य हो ।”

उनले किसानको खेतबारीसम्म पालिकाको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै उत्पादन, प्रविधि र बजारलाई एकै ठाउँमा जोड्ने प्रयास आगामी वर्ष अझ प्रभावकारी रूपमा अघि बढाइने बताए ।

आँधीखोला गाउँपालिकाले कृषि क्षेत्रसँगै शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, पूर्वाधार, वातावरण संरक्षण, सूचना प्रविधि र रोजगारीलाई समेत प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषिमैत्री कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन सके गाउँपालिकाको समृद्धि यात्रामा नयाँ गति थपिने अपेक्षा गरिएको छ ।

आँधीखोला गाउँपालिकाको उन्नाइसौं गाउँसभामा अध्यक्ष विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम:

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update