
स्याङ्जाको आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १७ औं गाउँ सभामा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाबासीहरुले अनुमोदन गरेको कार्यकालको तेस्रो वर्ष सफलतापूर्वक पूरा गरेको बताउँदै पौडेलले तीन वर्षको अवधिमा समुन्नत आँधीखोला निर्माणमा सकारात्मक परिणाम हासिल गरेको पौडेलले नीति तथा कार्यक्रममा भने ।
गाउँपालिकाको आर्थिक र सामाजिक विकासको क्षेत्रमा मार्गदर्शनको रुपमा रहेका कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखी नीति लिइएको अध्यक्ष पौडेलले बताए ।
आर्थिक विकास नीतिमा कृषि क्षेत्रमा प्राथमिकता दिइएको छ । कृषकको जीवनस्तरलाई समुन्नत बनाउनको लागि कृषिजन्य उत्पादन, उत्पादकत्व वृद्धि, विविधीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण एवं बजारीकरणका लागि "उत्पादनमा यान्त्रीकरण सहकारीमार्फत बजारीकरण" कार्यक्रम सञ्चालन गरिने बताइएको छ । उत्पादित कृषि उपजहरुलाई हरेक वडामा संकलन केन्द्र बनाई सहकारीसंगको साझेदारीमा बजारीकरण गर्ने नीति गाउँपालिकाले लिएको छ ।
कृषि अनुदानको प्रभावकारी वितरण, कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न कृषि अनुदानलाई उत्पादनमा आधारित अनुदान बनाइनेछ र कृषिमा दिइने अनुदान प्रणालीलाई व्यवस्थित, पारदर्शी र कृषक मैत्री बनाउने नीति अबलम्बन गरिनेछ ।
आँधीखोलाको रैथाने बालीको उत्पादन तथा उपभोगलाई पोषणको अभिन्न अंगको रूपमा अघि बढाउने र स्थानीय बालीको उत्पादन र पोषणयुक्त, गुणस्तरयुक्त खाद्यान्न बालीको खेती बिस्तार गरी व्यवसायीकरण गर्दै लगिनेछ ।
आँधीखोलाको पहिचान, सुन्तला र कागती अभियानअन्तर्गत स्थायी रुपमा आँधीखोला भन्दा बाहिर रहेर पनि आफ्नो पू्र्खौली थातथलोमा बहुवर्षिय फलफूल खेती गर्न चाहने कृषकहरुको लागि फलफूल खेतीलगायत कृषिजन्य व्यवसायमा आवद्ध गर्न “मेरो बिदा मेरो गाउँलाई” अभियान कार्यक्रम सञ्चालन गरिनेछ ।
पर्यटनमार्फत पालिका प्रबर्द्धनका लागि अन्धाअन्धी र श्रवणकुमार क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रबर्द्धनलाई टेवा पुर्याउन धार्मिक पर्यटनको माध्यममार्फत आँधीखोलाको पहिचान अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न पहल गरिनेछ भने गाउँपालिका क्षेत्रभित्र रहेका मुख्य पर्यटकीय केन्द्रको अन्तरसम्बन्धलाई मजवुत बनाउन सेतिदोभान - आग्री गुफा - भुद्रुमपोला - म्हाँजु भन्ज्याङ्ग - हिलेथाप्ले - सिरुवारी - गोरुजुरे - डहरे देउराली - अन्धाअन्धी - जुम्लीठाना - श्रवणकुमार - पञ्चासे - कालाभैरव कोट - नेपाने - तपश्वी कुटी - चुले शिद्ध गुफा हुँदै पुनः सेतिदोभान जोड्ने चक्रिय पदमार्ग निर्माण गरी नयाँ गन्तव्यको पर्यटन क्षेत्रको हवको रूपमा विकास गरिने छ ।
यस्तै, सामाजिक विकास क्षेत्रमा भने शिक्षा नीतिलाई प्राथमिकता दिइएको छ । जसमध्ये विद्यालयको सेवा क्षेत्र निर्धारण गरी माध्यमिक विद्यालयलाई लिडर विद्यालयका रुपमा र दुरीका आधारमा नजिक रहेका आधारभूत विद्यालयलाई फिडर विद्यालयका रुपमा विकास गरिनेछ ।
शैक्षिक गुणस्तर सुधार गर्न र लागत अनुसारको प्रतिफल प्राप्त गर्न "मेघा विद्यालय" कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यार्थी संख्या, भौगोलिक अवस्था, सामाजिक महत्व, प्रविधि र सामर्थ्यता समेतको आधारमा मेघा विद्यालय सञ्चालनको आधार तयार गर्दै यातायात व्यवस्थापन, छात्रावास भवन निर्माण, प्रविधि जडानलगायतका कार्यलाई प्राथमिकताको आधारमा कार्यान्वयन गर्दै लगिनेछ ।
शिक्षालाई प्रविधिमैत्री, व्यावहारिक र नतिजामुलक बनाउन विद्यालयका कक्षाकोठा डिजिटलाइज्ड गरिने र अनलाइनमा आधारित "एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली"लाई विद्यालयहरुको सम्पूर्ण क्रियाकलापमा आवद्ध गराउने कार्यक्रमलाई निरन्तरता र सुदृढीकरणका सबलीकरण गरिनेछ । विद्यार्थीहरुका लागि "पढ्दै रमाउँदै, सीप सिक्दै कमाउँदै कार्यक्रम" सञ्चालन गरिने साथै रुम टु रिड साक्षरता कार्यक्रमलाई प्रभावकारी र थप बिस्तार गर्दै सञ्चालन गरिनेछ ।
महिनाको अन्तिम शुक्रबारलाई "हेप्पी फ्राइडे"को रुपमा अवलम्बन गरी विद्यार्थीको व्यावहारिक सीप र क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गरिनेछ भने पालिकामा रहेको गुरुकुल वेद विद्याश्रमलाई थप सहयोग गरी सनातन हिन्दु धर्मको संरक्षण, संवर्द्धन र आध्यात्मिक एवं बौद्धिक ज्ञान केन्द्रको रुपमा विकास गरिनेछ ।
नागरिकको आधारभूत स्वास्थ्य आवश्यकता पुर्तीका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउन सुलभ रुपमा नि:शुल्क उपलब्ध हुने प्रतिबद्धता, प्रतीकात्मक, निदानात्मक र उपचारात्मक सेवाहरुलाई प्रभावकारी रुपमा निर्माणाधीन १५ शैयाको आँधीखोला आधारभूत अस्पताल भवन निर्माण सम्पन्न गराई अस्पतालमा सेवा थप गरी सञ्चालनका लागि प्रयत्न गरिने बताइएको छ ।
आधारभूत स्वास्थ्य सेवाको प्रभावकारिताका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, सहयोगात्मक सुपरिवेक्षण, अनुगमन मूल्याकंन तथा अन्य विविध कार्यक्रम सञ्चालन गरिने र श्रवणकुमार जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य प्रवर्द्धन सेवाको रुपमा व्यवस्थित गरिनेछ ।
भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाको केन्द्रबाट पालिकाभित्रका स्वास्थ्य संस्था, विद्यालय, सरकारी निकाय र मतदान केन्द्रमा पुग्ने ठाउँमा पुग्ने सडकहरुलाई स्तरउन्नत्ति तथा कालोपत्रे गर्ने कार्यलाई प्राथमिकता दिइनेछ भने सडकको दिगो र व्यवस्थित विकासका लागि "गाउँपालिका यातायात गुरूयोजना" लई प्रभावकारी तरिकाले कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सडक निर्माणका काममा कम्तीमा ५० प्रतिशत स्टक्चरको काम गर्ने नीति अवलम्बन गरिने र उपभोक्ता समितिद्वारा संचालन गरिने आयोजनाहरु हरेक वर्षको फाल्गुन मसानभित्रै सम्पन्न गराउने नीतिलाई निरन्तरता दिइनेछ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासन प्रवर्धनको लागि आर्टिफिसियल इन्टेलिजेन्स (AI) जस्ता नवीनतम सूचना प्रविधीको अधिकतम प्रयोग गर्ने नीति अवलम्बन गरिनेछ । सामाजिक संजालको संचालन र प्रयोगलाई प्रभावकारी बनाउन सूचना प्रविधी तथा साईबर सेक्युरिटी (Cyber Security) सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
पालिकाभित्र रहेका महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुको जानकारीसहितको पम्प्लेट, बुकलेट, ब्रोसर, म्यापबुक र वृत्तचित्र निर्माण गरी प्रचारप्रसार एवं प्रवर्द्धन गरिने र सबै टोल, बस्ती र व्यक्तिको घरको परिचय सजिलोसँग जानकारी गराउन स्ट्रीट नम्बर र घर नम्बर राखिनेछ ।
गाउँपालिकाको विद्युतिय तथ्यांकको सुरक्षा गर्दै सार्वजनिक स्थानमा फ्री वाईफाई जोन कार्यक्रमलाई निरन्तरता दिइनेछ र गाउँपालिकाले सम्पादन गरेका कार्य पारदर्शी बनाउन वेबसाइटमा प्रविष्टि गर्ने कार्यलाई निरन्तरता दिँदै विद्युतिय शासनको महत्वपूर्ण साधनको रूपमा तयार गरिएको आँधीखोला गाउँपालिकाको एन्ड्रोइड एप्लिकेसन प्रयोग गरी आम नागरिकमा सूचनाको पहुँच विस्तार गरिनेछ ।
र सेवा प्रवाहलाई चुस्त पारदर्शी एवं जवाफदेही बनाउन घुम्ती सेवा, सार्वजनिक सुनुवाइ, सामाजिक र सार्वजनिक परीक्षणलगायत अन्य सेवाग्राहीमैत्री कार्यक्रमलाई निरन्तरता दिइनेछ ।