नेपाली लोकदोहोरी संगीतका पारखीमाझ नयाँ गीत ‘सितल त जुनकै हो’ सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका अध्यक्षसमेत रहेका गायक तथा सर्जक जगत गौडेल र चर्चित लोकगायिका सुशीला गौतमको स्वरमा सजिएको यो गीत ‘पुस्कल भट्टराई अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतका शब्द, लय तथा संगीत जगत गौडेलकै रहेको छ । गौडेल र सुशीला गौतमको सुमधुर स्वरले सजिएको गीतले प्रेम, भावना र नेपाली गाउँघरको मौलिक परिवेशलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । सरल तर मन छुने शब्द र भाकाले गीतलाई थप श्रवणीय बनाएको श्रोताहरूको प्रतिक्रिया छ ।
गीतको भिडियोमा स्थापित मोडल शक्ति कुमार गोदार र नवप्रतिभा सरस्वती खत्रीको मुख्य अभिनय देख्न सकिन्छ । उनीहरूबीचको स्वाभाविक अभिनय, प्रेमिल भाव र ग्रामीण परिवेशको प्रस्तुतिले भिडियोलाई जीवन्त बनाएको छ । भिडियोले नेपाली समाजको मौलिक जीवनशैली र सम्बन्धका विविध पक्षलाई कलात्मक रूपमा चित्रण गरेको छ ।
भिडियोको निर्देशन प्रवीण थापाले गरेका हुन् भने छायांकन सरोज ठकुरीले गरेका छन् । भिडियो सम्पादन हिमालयन ग्यालेरीले गरेको निर्माण पक्षले जनाएको छ । प्राविधिक पक्ष र दृश्य संयोजनले समेत गीतलाई आकर्षक बनाएको दर्शकहरूको प्रतिक्रिया छ ।
गीत सार्वजनिक भएको छोटो समयमै डिजिटल माध्यममा सकारात्मक प्रतिक्रिया आउन थालेको छ । विशेषगरी नेपालीपन झल्किने शब्द, मौलिक भाका र ग्रामीण परिवेशलाई केन्द्रमा राखिएको दृश्य प्रस्तुतिका कारण लोकसंगीतप्रेमीहरूले गीतलाई रुचाएका छन् ।
गायक तथा सर्जक जगत गौडेलले नेपाली लोकसंस्कृति र गाउँघरको वास्तविक भावनालाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले गीत तयार पारिएको बताए ।
गौडेल भन्छन्, “लोकगीत भनेको हाम्रो पहिचान र संस्कृतिको धरोहर हो । ‘सितल त जुनकै हो’ मार्फत गाउँघरको भावना, प्रेम र नेपालीपनलाई संगीतमा उतार्ने प्रयास गरेका छौं । श्रोतादर्शकले गीतलाई आफ्नै जीवनसँग जोडेर महसुस गर्नुहुनेछ भन्ने विश्वास छ ।”
उनले पछिल्लो समय मौलिक लोकसंगीतप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यस्ता सिर्जनाले नेपाली कला, संस्कृति र पहिचानलाई जोगाउन थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।





