हरितालिका तीज नजिकिँदै गर्दा नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा सर्जक डीआर सुजनको प्रस्तुतिमा तीज विशेष गीत ‘तिमी र म भए’ सार्वजनिक भएको छ ।
तारा पौडेल श्रेष्ठको स्वर रहेको गीतमा सुनिता बीसी र विन्दु बीसीले ग्रुप भोकलमा साथ दिएका छन् । गीतको शब्द तथा संगीत डीआर सुजनले तयार पारेका हुन् भने संगीत संयोजन सुदीप सागरले गरेका छन् ।
गायिका तारा पौडेल श्रेष्ठले तीजको मौलिकता र प्रेमभावलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने प्रयास गीतमा गरिएको बताइन् । “गीतको शब्द, संगीत र भिडियोको भावले तीजको माहोलसँगै माया–प्रेमलाई पनि जोडेको छ । दर्शक–श्रोताले मन पराउनुहुनेछ भन्ने विश्वास छ,” उनले भनिन् ।
प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् भने भोकल एडिट कमल थापाले गरेका हुन् ।
गीतको भिडियो निर्देशक तथा कोरियोग्राफर मुकेश नेपालीले तयार पारेका हुन् । भिडियोको अवधारणा डीआर सुजनकै रहेको छ । भिडियोमा डीआर सुजन, आशिका श्रेष्ठ, सगुन थापा, सूर्यमान श्रेष्ठ र बिक्रम संवतले अभिनय तथा नृत्य गरेका छन् । विशेषगरी डीआर सुजन र आशिका श्रेष्ठको जोडीलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
गणेश सापकोटाले छायांकन गरेको भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । ‘धुन नेपाल’को ब्यानरमा निर्माण भएको भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेनमेन्टले गरेको हो ।
तीजको सांस्कृतिक पक्षसँगै माया–प्रेमको भावलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएकाले गीतले दर्शक तथा श्रोताको साथ पाउने निर्माण पक्षको अपेक्षा छ ।






