बाघ, चितुवा, भालुलगायत वन्यजन्तुको आक्रमणबाट स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा एक जना व्यक्ति घाइते हुनुका साथै २९५ वटा घरपालुवा जनावर र बालीनालीमा क्षति पुगेको छ । उक्त क्षतिबापत डिभिजन वन कार्यालय स्याङ्जाले १६ लाख २६ हजार ७४८ रुपैयाँ राहत वितरण गरेको छ ।
डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख नवराज बरालका अनुसार जिल्लाका आठवटै सब–डिभिजन वन कार्यालयमार्फत स्थानीयले दिएका निवेदनका आधारमा घटनाको स्थलगत अध्ययन, तथ्य पुष्टि र मूल्याङ्कनपछि राहत वितरण गरिएको हो ।
उनका अनुसार सबैभन्दा बढी २६७ वटा बाख्रा चितुवा तथा अन्य वन्यजन्तुको आक्रमणमा परेका छन् । यस्तै १० वटा भैँसी तथा पाडापाडी, पाँच वटा गोरु, दुई वटा भेडा र १० वटा कुखुरामा पनि क्षति पुगेको छ ।
मानव क्षतिको घटनामा वालिङ नगरपालिका क्षेत्रमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका थिए । त्यसैगरी गल्याङ नगरपालिकामा बाँदरको झुण्डले करिब ३० रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली नष्ट गरेको कार्यालयले जनाएको छ ।
वन अधिकृत अमरबहादुर पराजुलीका अनुसार राहत वितरण राहत वितरण निर्देशिका, २०८० बमोजिम गरिएको हो । निर्देशिकाअनुसार बाख्रा र भेडाको क्षतिमा बढीमा १० हजार रुपैयाँ, भैँसी र गोरुको क्षतिमा बढीमा २० हजार रुपैयाँ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिलाई एक लाख रुपैयाँसम्म राहत उपलब्ध गराइने व्यवस्था छ ।
उनले अन्नबालीमा भएको क्षतिको राहत भने सम्बन्धित स्थानीय तहबाट प्राप्त सिफारिस र मूल्याङ्कनका आधारमा निर्धारण गरिएको जानकारी दिए ।
२५ हजारभन्दा बढी बिरुवा पनि वितरण
डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा जिल्लाभर २५ हजार ३० वटा विभिन्न प्रजातिका बिरुवा निःशुल्क वितरण गरेको जनाएको छ ।
कार्यालयले उत्पादन गरेका ३६ हजार ६३० बिरुवामध्ये २५ हजार ३० वटा स्थानीय तह, विद्यालय, कृषक, विभिन्न समूह तथा संघसंस्थामार्फत वितरण गरिएको हो । बाँकी १२ हजार ६०० बिरुवा नर्सरीमै रहेका छन् ।
कार्यालयले असार १६ गतेदेखि निःशुल्क रूपमा बिरुवा वितरण सुरु गरेको थियो ।
वितरण गरिएका बिरुवामा राईखनियो आठ हजार ९००, बडहर तीन हजार ५६०, चाँप तीन हजार, निमारो दुई हजार ८५०, निम एक हजार ६५०, धुपी एक हजार २००, अमला एक हजार १७०, अम्बा एक हजार ८०, खयर ९३०, टिमुर ६००, कल्की ३७०, मोरिङ्गा ३००, जापानीज कटुस २००, श्रीखण्ड १८०, जुरे काफल १०० तथा लप्सी ३० वटा रहेका छन् ।
वन कार्यालयका अनुसार स्थानीय तह, विद्यालय, कृषक तथा सामुदायिक समूहमार्फत ती बिरुवा विभिन्न स्थानमा रोपिएको छ । कार्यालयले वन संरक्षणसँगै हरियाली विस्तार, जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।






