Syangja Dainik Media
वालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन

पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने भन्ने अन्यौलता हुने गर्दछ ।

यस्तै समस्यालाई निराकरण गर्न सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र वालिङ नगरपालिकाको सहकार्यमा वृत्ति मार्ग निर्देशन कार्यक्रम बुधबारबाट संचालन गरिएको छ । यहाँका ४ विद्यालयलाई केन्द्र बनाएर कक्षा ९ मा अध्ययानरत १८६ जना विद्यार्थीलाई सहभागी गराइने शिक्षा अधिकृत गीता पाठकले बताइन् ।

भविष्यको चिन्ता र अन्यौलतामा रहेका विद्यार्थीलाई सम्बोधन गर्न यो कार्यक्रम प्रभावकारी रहेको बताउँदै पाठकले भनिन्, 'दिगो तथा सम्मानित रोजगारीको लागि विद्यार्थीलाई आत्मसम्मान मिल्ने विश्वास लिएका छौँ ।'

SDO_SYJ ADS

पहिलो चरणमा सरस्वती मा.वि र पूर्णामृत भवानी मा.वि केन्द्रमा ९८ विद्यार्थीले सहभागिता जनाएका छन् । पहिलो चरणको कार्यक्रम २९ गतेसम्म संचालन हुनेछ ।

कार्यक्रममा सहभागी भएपश्चात आफूहरु धेरै खुसी भएको पुर्णमृत भवानी मा.वि कक्षा ९ मा अध्ययनरत विद्यार्थी ईसा न्यौपानेले बताइन् ।

विद्यार्थी न्यौपानेले भनिन्, 'कार्यक्रम निकै प्रभावकारी लाग्यो । मेरो सानै देखिको लक्ष्य नर्सिङ बन्ने थियो तर त्यसमा धेरै सेक्टर हुन्छ भन्ने थहा थिएन, अवसर अरु क्षेत्रमा पनि धेरै रहेछन् ।'

यस्तै दोस्रो चरणको कार्यक्रम माघ १४ देखि १९ गतेसम्म रणविर जनहित मा.वि र बालशिद्ध मा.वि मा ८८ जना विद्यार्थीलाई समावेश गराइनेछ ।

बुधबार भएको पहिलो चरणको कार्यक्रममा जनहित माविका प्रधानाध्यापक मातृका अर्याल , बाल शिद्ध माविका शिक्षक रेशम रेग्मी र हिमाली माविका शिक्षक लोकराज खनालले सहजिकरण गरेका थिए ।

कार्यक्रममा वालिङ् नगरपालिका वडा नं -१३ का वडा अध्यक्ष नमलाल डुम्रे, पूर्णामृत भवानी माविका विद्यालय व्यवस्थापन समितिका सदस्य यमकान्त खनाल, प्रधानाध्यापक याम बहादुर कुवँर र विष्णु अर्याल, सिता गौँडेलले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update