
स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रुपमा सवल र सक्षम बनाउन कार्यक्रम सुरु गरिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए ।
भीरकोटका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी कम गर्ने पालिकाको योजना रहेको नगरप्रमुख कर्माचार्यको भनाइ छ । नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थासँगको सहकार्यमा कार्यक्रम सुरु गरेको नगरप्रमुख कर्माचार्यले बताए ।
नगरपालिकामा भएको परियोजना समन्वय तथा अनुगमन समितिका पदाधिकारीहरुको अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख कर्माचार्यले कृषि र पशुको क्षेत्रमा पालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । उत्पादन र बजारीकरणको कामलाई सँगसँगै लैजाने योजना रहेको उनको भनाइ छ ।
कृषि तथा पशु उद्यमअन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुलीले जानकारी दिए । विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहने युवायुवतीलाई उत्पादनमा जोड्न युवा समूहमार्फत पनि काम गर्ने प्रशासकीय अधिकृत पराजुलीको भनाइ छ ।
हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डेले परियोजनाको लक्ष्य, योजना र गरिने क्रियाकलापका बारेमा बताउँदै साना किसान र महिलाहरुको लागि परियोजनाले काम गर्ने जानकारी दिए । यस्तै, दियालो संस्थाका कार्यबाहक अध्यक्ष विष्णु सुवेदीले कृषि र पशु विकासका लागि सबैको सहकार्य महत्वपूर्ण हुने बताए ।
परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।
परियोजनाका २० महिने अवधिका लागि ३ करोड ५० लाख रुपैयाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए । कार्यक्रम पालिकाको नौवटै वडामा सञ्चालन हुने पालिकाले जनाएको छ ।