Syangja Dainik Media
बिरुवा गाउँपालिकाको बजेट ४८ करोड ६० लाख

स्याङ्जाको बिरुवा गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवं गाउँ सभाको १७ औं अधिवेशनमा ४८ करोड ६० लाखको बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवरले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएसङ्गै उपाध्यक्ष भगवती शर्माले आगामी आर्थिक वर्षका लागि ४५ करोड ६० लाख ५८ हजार पाँच सय ६१ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

जसअन्तर्गत नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ८ करोड ४६ लाख रुपैयाँ, नेपाल सरकारबाट सशर्त अनुदानतर्फ २२ करोड ७३ लाख ९७ हजार रुपैयाँ, सङ्घीय राजश्व बाँडफाँट तर्फ ७ करोड २० लाख रुपैयाँ अनुमान गरिएको छ ।

यसैगरी, प्रदेश वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ६ लाख ७० हजार रुपैयाँ, प्रदेश राजश्व बाँडफाँडतर्फ ७२ लाख २ हजार रुपैयाँ, प्रदेश समपूरक अनुदानतर्फ ६० लाख, प्रदेश विशेष अनुदान ४० लाख रुपैयाँ रहेको छ । सङ्घीय विशेष अनुदानतर्फ १ करोड २९ लाख र सङ्घीय समपूरकतर्फ १ करोड २२ लाख अनुमान गरिएको छ । बचत ३ करोड १५ लाख र आन्तरिक आयश्रोत तर्फ १ करोड १० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

मंगलबार उपाध्यक्ष शर्मा चालू खर्चतर्फ ३५ करोड ३२ लाख छ हजार पाँच सय ६१ रुपैयाँ प्रस्ताव गरिएको छ । यो कुल बजेटको ७२.६६ प्रतिशत हुन आउँछ । यसमध्येबाट गाउँपालिकाअन्तर्गत रहेका सम्पूर्ण कर्मचारी र शिक्षकहरुको तलब भत्ता तथा कार्यालय सञ्चालन खर्चसमेत प्रस्ताव गरिएको छ । यसैगरी, चालू खर्चतर्फ नै जनप्रतिनिधिहरुको सेवा सुविधासमेत प्रस्ताव गरिएको छ ।

यस्तै, उपाध्यक्ष शर्माले पूँजीगत खर्चतर्फ आर्थिक विकास क्षेत्रमा १३.१४ प्रतिशत, सामाजिक विकास क्षेत्रमा २२.२८ प्रतिशत, भौतिक पूर्वाधारमा ५१.४७ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा ७.६५ प्रतिशत, संस्थागत विकास तथा सेवा प्रवाहमा ५.४६ प्रतिशत गरी कूल १३ करोड २८ लाख ५२ हजार विनियोजन गरिएको छ ।

सडक पूर्वाधारतर्फ साथै गाउँपालिकाको केन्द्रबाट वडा कार्यालय जोड्ने गाउँपालिकाका रणनीतिक सडकहरु बाह्रै महिना यातायात संचालन गर्न ललाङ् तर्ले कुसुमभञ्ज्याङ् सडकका लागि १ करोड ७५ लाख, भुवान चिन्नेवास राम्कीथुम्की सडक स्तरोउन्नतिका लागि ८६ लाख, भन्ज्याङ बाहु बिरुवा सडक स्तरोउन्नतिमा ४० लाख, बेलघारी मेथाभुरुङ सपाउँदे सडक स्तरोन्नतिमा ४० लाख, खाली बिरुवा सडकका लागि  ३० लाख, बिरुवा शिखरसिंह दह सडक स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पालिकास्तरीय अस्पताल सञ्चालनको लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा भवन तथा सडक पूर्वाधारकासाथै कृषि, शिक्षा र रोजगारको क्षेत्रलाई प्राथमिकतामा पारिएको छ । जसमा वास्तविक कृषकको पहिचान गरी कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन कृषक अनुदानमा २० लाख, ५० प्रतिशत अनुदानमा कृषि बीउबिजन वितरण कार्यक्रमको लागि बजेट व्यवस्थापन गरिएको छ ।

योसँगै बजारोन्मुख बस्तीहरुको भित्री बाटो निर्माण र सामुदायिक भवन निर्माणमा उपभोक्तासँग साझेदी गर्न समेत आवश्यक बजेट विनियोजन गरिएको छ । यसैगरी, शिक्षातर्फ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रोत्साहनस्वरुप पोषणयुक्त खाजा व्यवस्थापन गर्न सङ्घीय सरकारले तोकेको दरमा वृद्धि गर्न १० लाख बजेट विनियोजन गरिएको छ । शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउनका लागी १ करोड २९ लाख विनियोजन गरिएको छ । पालिकाभित्रका अभिभावकबिहिन बालबालिकाहरुको अभिभावकत्व गाउँपालिकाले ग्रहण गरी कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलानमा आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचिकृत १ सय दिन बराबरको रोजगारी प्रदान गरिएकोमा साझेदारीको लागि १३ लाख ७५ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा कामदारहरुलाई र करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्नका लागि २५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।

यही असार ६ गते गाउँपालिकाको १७ औं अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्पन्न गरेकोमा मङ्गलबार आर्थिक वर्ष २०८२/०८३ को अनुमानित बजेट प्रस्तुतसँगै सर्वसम्मतले पारित गरिएको हो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update