
स्याङ्जाको वालिङ् नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औं नगर सभामार्फत नगर प्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र नगर उपप्रमुख कविता तिवारी गैह्रेले बजेट सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख खाँणद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वालिङ्को पहिचानको रुपमा रहेको गुलाबी शहरलाई प्राथमिकतामा राखिएको छ ।
ग्रामीण भेगबाट प्रशासनिक काम गर्न वालिङ् बजार आउने सेवाग्राहीलाई लक्षित गर्दै नगरबस संचालन गर्ने योजना अघि सारिएको छ । विद्यार्थी कम भएको विद्यालयहरुलाई मर्ज गर्ने, कम्तीमा एउटा सामुदायिक विद्यालयलाई आवसीय बनाउने र गाउँ गाउँबाट नगरबस चढाएर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने नगरको लक्ष्य रहेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकास देखि कक्षा १० सम्म पढ्ने विद्यार्थीलाई एउटै रङको पोशाक वितरण गर्ने योजना अघि सारेको छ ।
एक विद्यालय एक करेसाबारी, बुक फ्रि फ्राइडे, विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीको लागि छात्रवृत्तिलगायतको कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
‘म स्वास्थ्य, मेरो नगर स्वस्थ्य’ कार्यक्रमअन्तर्गत समुदायको घरदैलोमा स्वास्थ्य सेवा तथा विद्यालयमा विद्यालय नर्स कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै, किसान लक्षित कार्यक्रमअन्तर्गत किसानको खेतबारीमै प्राविधिक सेवा र टेवा, उत्पादनमा आधारित प्रोत्साहन अनुदान, कृषि उपज संकलन केन्द्र स्थापना र रैथाने बालीको संरक्षणजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
कुल बजेट एक अर्ब पाँच करोड
वालिङ् नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ लागि अनुमानित आय व्यय विवरण नगर सभामार्फत प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न नगर उपप्रमुख कविता तिवारी गैह्रेले कुल १ अर्ब ५ करोड ७६ लाख ९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।
जसमा अनुमानित आन्तरिक आय ६ करोड ५० लाख रहेको छ । प्रस्तुत बजेटमा दायित्व रकम कट्टा गरी बाँडफाँड हुन आउने रकम २२ करोड ४८ लाख २३ हजार सात सय चौसट्ठी रहेको छ ।
जसमध्ये आर्थिक विकासमा ३० प्रतिशत अर्थात् ६ करोड ७४ लाख ४७ हजार १२९, सामाजिक विकासमा २५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५ हजार ९४१, पूर्वाधार विकासमा ३० प्रतिशत अर्थात् ६ करोड ७४ लाख ४७ हजार १२९, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १० प्रतिशत अर्थात् २ करोड २४ लाख ८२ हजार ३७६ र प्रशासकिय सुशासनमा ५ प्रतिशत अर्थात् १ करोड १२ लाख ४१ हजार १८८ रहेको छ ।
नगर सभाले पास गर्यो चार विद्येयक
वालिङ् नगरपालिकाले १८ औँ नगर सभामार्फत ४ वटा विद्येयक सर्वसम्मत पास गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा विद्येयक, नगर प्रहरी विद्येयक, विज्ञापन विद्येयक र स्थानीय पशु बधशाला तथा मासु जाँच विद्येयक पास गरेको हो ।