
सधैँजसो गाउँका पाखापखेरामा बाँदर धपाएर खेती गर्ने सीता सार्की हिजोआज आफूले सिकेको सिपलाई के कसरी सदुपयोग गर्ने भन्ने योजना बनाउन थालेकी छन् । स्याङ्जाको भीरकोट नगरपालिका –५, तोरीडाँडा निवासी ३७ वर्षीया सार्की तालिमपछि सिमेन्टको पर्खाल लगाउन, सोलिङ, ढलान र प्लास्टर गर्न सक्ने भएकी छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित ५० दिनको सडक मर्मतसम्भार तालिम लिएपछि उनको मनमा सीपको सदुपयोग गरेर आत्मनिर्भर बन्ने हुटहुटी जाग्न थालेको छ । तालिमपश्चात् काम गर्न सक्ने क्षमता र आत्मविश्वास दुवै बढेको उनको अनुभव छ ।
यतिबेला खेती लगाउने समय भएपनि त्यसबाहेकको समयमा निर्माणको काम गरेर आत्मनिर्भर बन्न सकिने विश्वास उनमा जागेको छ । तालिमप्राप्त जनशक्तिलाई नगरपालिकाले नै नगरपालिकाभित्र सञ्चालन हुने सरकारी योजनामा प्रयोग गर्ने देखिएको छ । सीप सिकेका सबै युवालाई रोजगारीमा जोड्न नगरपालिकाले समेत योजना बनाएर गाउँठाउँमा रोजगारी दिँदै आएको छ ।
भीरकोट नगरपालिका –४, छाङ्छाङ्दीका प्रकाश नेपालीले पोलिथिन र जिआई पाइप जोड्ने, काट्ने, मर्मत गर्ने, धारा जोड्नेलगायत प्लम्बिङको सीप सिके । अहिले उनलाई पनि जीवनमा पहिलो पटक एकदमै उपयोगी तालिम लिएको अनुभूति भएको छ । तालिम उपयोगी भएकाले स्वरोजगार प्राप्त गरेर आत्मनिर्भर बन्न वा रोजगारी प्राप्त गर्न सहज हुने उनको विश्वास छ ।
यस्तै, भीरकोट वडा नं. -६ का वेगबहादुर थापाले पनि प्लम्बिङको तालिम लिए । ग्रामीण भेगका खानेपानी योजनाको मर्मतसम्भार, नयाँ तथा पुराना घरमा प्लम्बिङको काम गर्न सक्ने भएको उनी बताउँछन् ।
तालिमप्रदायक संस्था गण्डकी पोलिटेक्निकल संस्थाले लिने सीप परीक्षा कक्षामा सहभागी हुने इच्छा व्यक्त गरेका उनमा अब प्लम्बिङ पेसा अपनाएर नै आत्मनिर्भर बन्न सकिने विश्वास रहेको छ ।
सीता, प्रकाश र वेगबहादुरजस्तै भीरकोट नगरपालिकाका ४० जना युवाले प्रधानमन्त्री रोजगार कार्यक्रम ‘युवा रोजगारीका लागि रूपान्तरण आयोजना’ अन्तर्गत कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास तालिम लिएका छन् ।
तालिम लिएका युवालाई तालिम उपयोगी मात्रै लागेको छैन, स्वदेशमै रोजगारी गरेर आत्मनिर्भर बन्न सकिने आत्मविश्वास पनि भरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक वसन्त बस्नेतले स्थानीय माग र आवश्यकतालाई ध्यानमा राखेर प्लम्बिङ र सडक मर्मतसम्भार गरी दुई वटा तालिम सञ्चालन गरिएको बताए ।
स्थानीयस्तरमा खानेपानी र सडक योजना सञ्चालन एवं मर्मतसम्भार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति अभाव भएकाले प्लम्बिङ र सडक मर्मतसम्भार तालिम सञ्चालन गरिएको उनले जानकारी दिए ।
उनका अनुसार १९ जना युवाले प्लम्बिङ र २१ जनाले सडक मर्मतसम्भारअन्तर्गत सिमेन्ट र इँटाको गारो लगाउने, सोलिङ, ढलान र प्लास्टर गर्ने सिप सिकेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकाका नौ वटै वडाका सीप सिक्ने चाहना भएका बेरोजगार युवालाई तालिम दिइएको संयोजक बस्नेतले बताए । दैनिक जीवनमा प्रयोग गर्न सकिने सीप सिकाइएकाले रोजगारी प्राप्त गर्न सहज हुने उनको विश्वास छ ।