Syangja Dainik Media
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/८२ मा प्रभावशाली राजस्व सङ्कलन गर्दै ७ करोड ७७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार, सबैभन्दा धेरै राजस्व राहदानीबाट उठेको हो । उक्त शीर्षकबाट मात्रै ७ करोड ७७ लाख ३ हजार २०८ रुपैयाँ सङ्कलन भएको छ । इलाका प्रशासन कार्यालय वालिङ्कोसमेत गरी राजस्व यति संकलन भएको हो ।

सरकारी सम्पत्तिको बहाल र बिक्रीमार्फत एक लाख ८४ हजार ९०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । हातहतियार नवीकरण तथा नामसारीबाट १३ लाख २६ हजार ७०० रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत (२३ लाख ३० हजार ४००), प्रशासनिक दण्ड, जरिवाना र जफत(९७ हजार), परीक्षा शुल्क (४२ हजार), र अन्य प्रशासनिक सेवा शुल्कमार्फत १५ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा स्याङ्जा प्रशासन कार्यालयले ११ हजार ८४२ राहदानी सिफारिस गरेको छ भने कुल १० हजार ८२९ राहदानी वितरण गरेको छ ।

यसैबीच, स्याङ्जा प्रशासनले नागरिकता तथा परिचयपत्र वितरणमा समेत उल्लेखनीय सेवा प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जा(इलाका प्रशासन कार्यालय, वालिङ्समेत)बाट आर्थिक वर्ष २०८१/०८२ मा प्रतिलिपीबाहेक वंशजको आधारमा ७ हजार ८५५ नयाँ नागरिकता, वैवाहिक अंगीकृत १६ र गैरआवसीय नागरिकता २०, प्रतिलिपि नागरिकता ८ हजार ४८१, ७२७ नाबालक परिचयपत्र वितरण, २९ हजार २०१ जनाको राष्ट्रिय परिचय विवरण दर्ता, १५ हजार ८४३ जनालाई परिचय पत्र वितरण गरेको छ ।

सोही अवधिमा २९ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने कार्यालयले १० नागरिकता र एक नागरिकता प्रतिलिपी रद्द गरेको छ ।

प्रशासन कार्यालयले विवाद समाधान र प्रमाणिकरण सेवामा समेत सुधार गरेको छ । कार्यालयले सार्वजनिक अपराधसम्बन्धी कुल ४२ मुद्दा दर्ता, ३६ फर्छ्यौट, पारिवारिक पेन्सन, शपथ पत्र रहलपहल रकम भुक्तानी, नाम, थर, उमेर, जातीय प्रमाणिकरणमा २,२५२ जनाको कागजात प्रमाणितसम्बन्धित सिफारिस गरेको छ ।

प्रशासनमा आउने सेवाग्राहीलाई सहज बनाउन नागरिक सहायता कक्ष स्थापना गरिएको छ जहाँबाट सेवाग्राहीले प्रत्यक्ष सेवा प्राप्त गर्ने गरेका छन् ।

राष्ट्रिय परिचयपत्र सेवामा विद्युतीय टोकन प्रणाली, ज्येष्ठ नागरिक विश्राम स्थल, बजार अनुगमन, विकास आयोजना सहजीकरण, विपद् राहत, एकीकृत घुम्ती शिविरलगायतका नविनतम कार्यहरू पनि सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

उनले विपद पीडितलाई २१ लाख ७५ हजार रुपैयाँ, द्वन्द पीडितलाई १२ लाख ४८ हजार रुपैयाँ राहत र विदेशमा मृत्यु भएका व्यक्तिका परिवारलाई २ करोड ७३ लाख ३५ हजार ९३ रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको बताए ।

स्याङ्जा प्रशासनले आर्थिक पारदर्शिता र सेवा सुधार दुबैमा राम्रो प्रगति गरेको छ — सेवा प्रवाहमा प्रविधिको उपयोग र जनमैत्री पहल यसको प्रमाण हुन् ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update