
स्याङ्जाको आँधीखोला गाउँपालिका –६ फापरथुममा अवस्थित आनन्दआश्रम ज्ञान केन्द्रले शनिबार ३० औँ अध्याय तथा साहित्यिक र वैचारिक गोष्ठी गरिएको छ ।
कार्यक्रममा फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाँले साहित्य मानव जीवनको सम्वेदनशील आयाम भएको उल्लेख गर्दै “साहित्यले मानवलाई सुसंस्कृत र सभ्य बनाउँछ” भन्ने धारणा व्यक्त गरे । उनले आनन्दआश्रमको अभियानले ग्रामीण समाजमा चेतनाको विकास र जीवन दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे ।
गोष्ठीमा साहित्यकार दिवाकर सुवेदी, शिखा सुनार, सबिन जिटी, सूर्य जिटी र विनिता जिटीले आफ्ना कविता र कथावाचन प्रस्तुत गर्दै स्रोतालाई भावनात्मक र चिन्तनशील यात्रामा डुबाएका थिए ।
त्यस्तै, टिकाराम ढकाल (वनपाले), संरक्षक त्रिलोचन ढकाल, डा. ऋषिराम ढकाल र रिदम ढकालले आनन्दआश्रमका गतिविधि, योगदान तथा आगामी योजनाका सम्बन्धमा प्रकाश पारेका थिए ।
स्थानीय सहभागिता, वैचारिक चेतना र साहित्यिक अभिव्यक्तिको संगम बनेको यस कार्यक्रमले ग्रामीण क्षेत्रमा बौद्धिक गतिशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीको भनाइ थियो ।