
स्याङ्जा सदरमुकामस्थित सिटी हल यहि भाद्र ३ मा मौलिक तीज गीतको धुन र नृत्यको तालमा रंगिने भएको छ । आँधिखोला एक्सप्रेस न्यूज प्रा.लि.को आयोजना तथा खुमा अर्याल फाउन्डेसनको मुख्य प्रायोजनमा हुने “तीजमा बरिलै २.. २०८२” खुल्ला तीज गीत तथा एकल नृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको सह–प्रायोजन साथै पुतलीबजार नगरपालिका, आँधिखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, बिरुवा गाउँपालिका र फेदिखोला गाउँपालिकाको सहयोग रहने आँधिखोला एक्सप्रेस न्यूज प्रा.लि.का अध्यक्ष रोशन लामिछानेले जानकारी दिए ।
मौलिक तीज गीतको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा, तीज गीततर्फ प्रथमलाई २० हजार रुपैयाँ नगद र प्रमाणपत्र, दोस्रोलाई १० हजार रुपैयाँ नगद र प्रमाणपत्र, तेस्रोलाई ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै, एकल नृत्यतर्फ विजेताले ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
गत वर्ष पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै आयोजकले यसपटक महिला, आमा समूह तथा विभिन्न संघ–संस्थालाई सक्रिय सहभागिताको लागि निमन्त्रणा गरिसकेको आयोजक टिमका सदस्य प्रेमबहादुर थापाले जानकारी दिए । सहभागी आमा समूहहरूले नि:शुल्क समूह दर्ता गर्न पाउने व्यवस्था गरिएको छ ।