
स्याङ्जाको वालिङ नगरपालिका –६, मिर्दीमा ‘निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम् रचना वाचन गोष्ठी–२०८२’ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरण अभियानको छैटौँ वर्ष उत्सवको अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६ अन्तर्गत ३५ औँ पाइलाको रूपमा नेपाली साहित्यमा पहिलोपटक निर्बन्ध लेखन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वैकल्पिक बाटो पृथक पाइला स्याङ्जाका संस्थापक संयोजक मिलन समीरले निर्बन्ध लेखनमाथि केन्द्रित रहँदै सहजीकरण गरेका थिए । उनले निर्बन्ध विधालाई नेपाली साहित्यमा वैकल्पिक बाटो र नयाँ सिर्जनात्मक खोजका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए ।
रचना वाचन सत्रमा मिलन समीरले ‘मान्छेको मृत्यु’, संस्थापक शम्भु अर्यालले ‘दिवस एक विद्रोह’, संस्थापक वसन्त खनालले ‘तिमीले बिर्सियौ भने’, अभियन्ता पारिश्वर न्यौपानेले ‘मलाई मन पर्छ’ शीर्षकका निर्बन्ध काव्य वाचन गरेका थिए । त्यस्तै, गुरुप्रसाद ढकालले निर्बन्ध गजल प्रस्तुत गरेका थिए ।
सहभागी लेखकहरूले निर्बन्ध लेखनलाई कथा, कविता, गजल र आख्यानबीचको नयाँ विधागत अभ्यासका रूपमा अगाडि बढाउन सकिने निष्कर्ष निकालेका थिए । यसलाई नेपाली साहित्यको इतिहासमै एक फरक र सृजनात्मक प्रयोगको रूपमा लिइएको छ ।