Syangja Dainik Media
भकुण्डे साहित्य उत्सव सम्पन्न

श्रीमद्देवी भागवत महापुराणम ज्ञान यज्ञ–२०८२ को अवसरमा स्याङ्जाको वालिङ् नगरपालिकास्थित भकुण्डेमा ‘भकुण्डे साहित्य उत्सव–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ । धार्मिक अनुष्ठानसँगै साहित्यिक क्रियाकलापलाई जोडेर आयोजना गरिएको यो कार्यक्रम स्याङ्जाको साहित्यिक यात्रामा ऐतिहासिक मानिएको छ ।

श्री नवदुर्गा पूजा व्यवस्थापन समितिको आयोजनामा वालिङ–१०, भकुण्डेमा रहेको शिवपार्वती मन्दिरमा भएको साहित्य उत्सव वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान, स्याङ्जाको संयोजनमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा मुक्तककार विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, डोलराज डुम्रे ‘विकल्प’, हरि पङ्गेनी र शोभाकान्त रेग्मीले मुक्तक वाचन गर्दै साहित्यिक माहोललाई उचालिरहेका थिए । गजलकार अजित काफ्ले, गुरुप्रसाद ढकाल, खगेन्द्रजंग थापा र नारायण न्यौपानेले गजल प्रस्तुत गरेका थिए । त्यस्तै, कविता वाचनमा अनन्त अर्यालदेखि निखिलनारायण रेग्मीसम्मका दुई दर्जनभन्दा बढी कविहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण उत्सवका संयोजक मिलन समीरले गरेका थिए भने अध्यक्षता समितिका अध्यक्ष अर्जुनप्रसाद खनालले गरेका थिए । उपाध्यक्ष विष्णु सुवेदी गैह्रेद्वारा स्वागत मन्तव्य दिइएको कार्यक्रममा स्थानीय साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो ।

भकुण्डे शिवपार्वती मन्दिर वि.सं. २०४८ सालमा स्थापना भएको हो । सिद्धार्थ राजमार्ग छेउमै रहेको यस मन्दिर परिसरमा हाल पण्डित प्रकाश तिवारीद्वारा कथा वाचन भइरहेको ज्ञान यज्ञ आगामी बुधबारसम्म निरन्तर सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update