Syangja Dainik Media
आनन्द आश्रमको प्रज्ञा सम्मान: कवि पौडेल र गिरी सम्मानित

स्याङ्जाको आँधीखोला गाउँपालिका –६, फापरथुमस्थित आनन्द आश्रम ज्ञान केन्द्रले दुई साहित्य स्रष्टालाई ‘आनन्द आश्रम प्रज्ञा सम्मान’ प्रदान गरेको छ । केन्द्रले आयोजना गरेको साहित्यिक गोष्ठी तथा तेस्रो साधारण सभामा कवि पोषराज पौडेल र चिन्तु गिरी सम्मानित भएका हुन् ।

पोखरा महानगरपालिका –१९ हाल चितवन निवासी पौडेल र पुतलीबजार नगरपालिका –१४ का गिरी दुवै जना लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय स्रष्टा हुन् । उनीहरूलाई प्रगतिशील साहित्यकार चक्रबहादुर पराजुलीले खादा, दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थापक संरक्षक तथा पूर्वमन्त्री त्रिलोचन ढकालले सम्मानित कविहरूको योगदान र साहित्यिक यात्राबारे प्रकाश पारेका थिए । साथै, कार्यक्रमका क्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हिमलाल पुरी, देवी सापकोटा, ई. सुदर्शन शर्मा, विद्यार्थी शिखा सुनार र रिदम ढकालले आफ्ना रचनाहरू वाचन गर्दै वातावरणलाई साहित्यिक बनाएका थिए ।

यस्तै, साधारण सभाले आगामी दुई वर्षका लागि टीकाराम ढकाल (काका)को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा दीप्तिनारायण शर्मा (उपाध्यक्ष), ढोलराज ढकाल (सचिव), खेमनारायण लामिछाने (उपसचिव) र नन्दबहादुर जिटी (कोषाध्यक्ष) रहेका छन् ।

अन्य सदस्यहरूमा इन्द्रमणि ढकाल, खगिसरा जिटी, गृहलक्ष्मी ढकाल, डा. ऋषिराम ढकाल, देवी सापकोटा, मानबहादुर जिटी, शारदा शर्मा, शेरबहादुर शाही, हिमलाल पुरी र हिमालयजङ्ग बानियाँ रहेका छन् ।

कार्यक्रमले साहित्य र सामुदायिक चेतनाको संगम झल्काएको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update