
पोखरा थिएटरको टिमले यहि असोज महिनामा स्याङ्जा बजारमा दुई दिन र वालिङ् बजारमा दुई दिन गरी आफ्नो नाटक ‘मुनामदन’ मञ्चन गर्ने भएको छ ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनका अनुसार गत साल मञ्चन गरिएको `एक चिहान´ नाटकलाई स्याङ्जाको अपार माया पाएपछि यसवर्ष ‘मुनामदन’ नाटक मञ्चन गरिने भएको हो ।
पोखरा थिएटरको प्रस्तुतिमा तयार गरिएको यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुनामदन’ नाटक असोज २६ र २७ गते स्याङ्जा बजारको सिटी हलमा र असोज २९ र ३० गते वालिङको शुभम् पार्टी प्यालेस एण्ड प्रकाश क्याटरिङमा मञ्चन गरिने भएको छ ।
कार्यक्रम संयोजक रमेश तिमल्सिनाका अनुसार स्याङ्जा बजारमा दुई दिन बिहान ८ र ११ बजे तथा दिउँसो १ बजे गरी तीनवटा सो मञ्चन हुनेछन् । यस्तै, वालिङमा पनि समान तालिकामा मञ्चन हुने नाटक असोज २९ गते साँझ ५ बजे विशेष सो सहित प्रस्तुत गरिनेछ ।
वालिङतर्फको मञ्चनको स्थानीय संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले गर्नेछ । नाटक युनिटका कलाकारहरू दुवै स्थानमा हुने प्रस्तुतीका लागि उत्साहित छन् र अझ परिष्कृत रूप दिन अन्तिम तयारीमा जुटेका छन् ।
यसअघि पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदा ‘मुनामदन’ले दर्शकको अपार माया पाएको थियो । यो नाटकमा मुना र मदनको अमर प्रेमकथा मार्फत समाज, संस्कृतिको वास्तविकता र परदेशी दुःखलाई मार्मिक रूपमा चित्रण गरिएको छ ।
नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका हुन् । कृष्टि गुरुङ, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, रञ्जु दाहाल, प्रकाश रेग्मी, उत्सर्ग सुवेदी, शीतला अधिकारी, सुसन पौडेल, विष्णु खड्का कार्की, अर्जुन शर्मा र अञ्जली शाही लगायतका कलाकारहरूको अभिनय यसमा देख्न सकिनेछ ।
सङ्गीत संयोजन मिलन गिरी, शब्द संयोजन विवेक देवकोटा, प्रकाश परिचालन श्रीकृष्ण भण्डारी, साउण्ड परिचालन विकास अधिकारी, र कोरियोग्राफीमा सरिता थापा मगर रहेका छन् । साथै, अप्सरा बयलकोटी, बिनिता बयलकोटी, राहुल श्रेष्ठ, प्रतीक घिमिरे, बिपिन ओझा, अस्मिता गोदार लगायतले नाटक युनिटमा सघाउनेछन् ।
निर्देशक परिवर्तनका अनुसार यस संस्करणमा झ्याउरे लयलाई शास्त्रीय संगीतको संगममा प्रस्तुत गर्दै केही फरकपन दिन खोजिएको छ । उनले भने, “यो मुनामदन पहिलेका भन्दा भिन्न अनुभूति दिनेछ, यहाँ प्रेम मात्र होइन—रोजगारको लागि विदेश जाने संघर्ष र त्यसले ल्याएको सामाजिक रूपान्तरण पनि देखाइनेछ ।”
१ घण्टा ४५ मिनेट लामो यो नाटक माग भए अन्य जिल्लामा पनि मञ्चन गर्ने तयारीमा पोखरा थिएटर जुटेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा नाटक प्रदर्शन गरेर रंगमञ्च हेर्ने संस्कार विस्तार हुँदै गएको थिएटरको भनाइ छ ।