
भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकाको निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै नगरपालिकालाई कुनै पनि प्रकारका स्थानीय कर नतिर्ने घोषणा गरेको छ ।
संघले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा नगरपालिकाले एक स्थानीय क्लबलाई ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टल सञ्चालन गर्न अनुमति दिएको विषयमा आपत्ति जनाएको छ । संघका अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीबारदेखि भीरकोट –१ बयरघारीमा मेला सञ्चालन हुने तयारी छ, जसले स्थानीय व्यापारीहरूको व्यवसायमा प्रत्यक्ष असर पार्ने देखिएको छ ।
“नगरपालिकालाई बारम्बार आग्रह गर्दा पनि राजनीतिक प्रभावमा गएर अनुमति दिइएको हो,” अध्यक्ष अर्यालले भने, “त्यसैले हामी बाध्य भएर कर नतिर्ने निर्णय गरेका हौँ ।”
संघका अनुसार राज्य पुनर्संरचनापछि स्थानीय व्यापारीहरूको हितका लागि स्थापना गरिएको संस्था पनिरहेका बेला नगरपालिकाले व्यापारीहरूको हित विपरीत काम गरेको आरोप लगाइएको छ । संघले विगतमा नगरपालिकासँग सहकार्य गर्दै दुईपटक ‘भीरकोट महोत्सव’ सम्पन्न गराएको र कृषि तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको स्मरण गराएको छ ।
तर, संघका अनुसार अहिलेको आर्थिक संकटका बेला मेला आयोजनाले व्यापारीहरूलाई थप दबाबमा पार्ने खतरा बढेको छ । “देशको आर्थिक अवस्था सङ्कटपूर्ण छ, यस्तो समयमा मेला खोल्नु भनेको स्थानीय व्यवसायीमाथि चोट पुर्याउने काम हो,” विज्ञप्तिमा भनिएको छ ।
संघले नगरपालिकाको निर्णयप्रति असहयोग जनाउँदै अब कुनै पनि प्रकारका स्थानीय कर नतिर्ने निर्णय गरेको छ । साथै, उक्त निर्णयको जानकारी अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला समन्वय समिति लगायत सम्बन्धित निकायहरूलाई बोधार्थ पठाइएको जनाएको छ ।