Syangja Dainik Media
भीरकोटमा सुरु भयो चौथो बयरघारी रमाइलो मेला

स्याङ्जाको भीरकोट नगरपालिका बयरघारी पिस युथ क्लबको आयोजनामा भीरकोट –१ स्थित खेलमैदानमा चौथो बयरघारी रमाइलो मेला सुरु भएको छ । बडा दशैं र तिहारको शुभ अवसर पारेर सुरु भएको यो मेला केवल मनोरञ्जनकै लागि होइन, स्थानीय विकास र सहकार्यको प्रतीकको रूपमा पनि हेरिएको छ ।

मेलाको उद्घाटन गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले गरेका छन् । उद्घाटन समारोहमा श्रेष्ठले युवाको जोश र सहभागितालाई देश विकासको मेरुदण्ड भन्दै सबै निकायले युवालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । “युवाले संविधान र कानुनी शासनको पक्षमा उभिए देश बलियो बन्छ,” उनको भनाइ थियो ।

पूर्वमन्त्री श्रेष्ठले खेलकुद र मेला सञ्चालनमा पारदर्शिता र नियमपालन गर्न सुझाव दिँदै स्थानीय उद्योगी व्यापारीलाई पनि मेलामा सहभागिता जनाउन आग्रह गरे ।

भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले उद्योग वाणिज्य संघ र क्लबबीच सहकार्यका माध्यमबाट मेलालाई थप प्रभावकारी बनाउन सुझाव दिए । उनले “भीरकोटको समृद्धिको बाटो सहकार्य र एकताबाटै खुल्छ,” भन्दै सबैलाई साझा लक्ष्यका साथ अघि बढ्न आह्वान गरे ।

क्लबका अध्यक्ष रोशन गुरुङका अनुसार मेलामा करिब ११५ व्यापारिक स्टल रहनेछन् । तीमध्ये १० वटा स्टल स्थानीय कृषि उपजका लागि निःशुल्क प्रदान गरिनेछ । २० लाख रुपैयाँसम्मको कारोबार हुने लक्ष्यसहित मेला ११ दिनसम्म सञ्चालन हुनेछ ।

मेलाको विशेष आकर्षण भनेको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता रहेक्प छ । खेल संयोजक सुरज खाँण ठकुरीका अनुसार असोज २५ गतेदेखि सुरु हुने प्रतियोगितामा स्याङ्जा भित्रका साथै बाहिरका टिमहरूले समेत सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको पहिलो पुरस्कार १ लाख १५ हजार, दोस्रो ७० हजार, तेस्रो ४० हजार र सान्त्वना पुरस्कार ३० हजार रुपैयाँ तोकिएको छ ।
 
यससँगै, विद्यालयस्तरीय नृत्य र रत्यौली प्रतियोगिताले पनि मेलाको आकर्षण बढाउने क्लबले जनाएको छ । मेलामा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूले प्रत्यक्ष प्रस्तुती दिने तयारी समेत भइरहेको आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र) का मीनप्रसाद कोइराला, नेकपा (एमाले) का विश्वनाथ अर्याल र निवर्तमान नगर प्रमुख छायाराम खनाललगायतका नेताहरूले मेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तर, भीरकोट उद्योग वाणिज्य संघ भने केही असन्तुष्ट देखिएको छ । संघले क्लब र नगरपालिकालाई व्यापारिक स्टल नराखी केवल खेलकुद कार्यक्रम र रमाइलो मेला सञ्चालन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापनपत्रसमेत बुझाएको थियो । तर, त्यो आग्रह बेवास्ता भएपछि संघका पदाधिकारी र सदस्यहरू उद्घाटन समारोहमा सहभागी भएनन् ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update