Syangja Dainik Media
परम्परा पनि, पढाइ खर्च पनि: ठूलीबेसीका बालकले देउसी भैलोलाई दिए नयाँ अर्थ

तिहारको रमाइलोमा जहाँ कतिपय स्थानमा आधुनिक गीत र डीजे साउन्डको हल्ला गुञ्जिरहेको थियो, त्यहीँ स्याङ्जाको पुतलीबजार नगरपालिका –४ ठूलीबेसीका बालकहरूले पुरानो परम्परालाई पुनर्जीवित गर्दै देउसी भैलोबाटै पढाइ खर्च जुटाएका छन् ।

शहरीकरण र आधुनिकताले मौलिक परम्पराहरू ओझेलमा पर्दै गएको बेला ठूलीबेसीका १४ वर्षीय सन्तोष परियार (रागी) को नेतृत्वमा रहेको छ जनाको समूहले परम्परागत बाजासहित घर–घर पुगेर देउसी भैलो खेलेका हुन् । उनीहरू सबै पुतलीबजार -४ नागडाँडास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

“सबैजना उठेको रकमले बनभोज गर्छन्, हामीले भने पढाइ खर्चको लागि जम्मा गर्‍यौं,” सन्तोषले मुस्कुराउँदै भने, “परम्परा पनि जोड्यौं, सिप पनि सिक्यौं, कला पनि निखार्यौं ।”

ती बालकहरूले तीन दिनसम्म देउसी भैलो खेलेर १२ हजार आठ सय रुपैयाँ संकलन गरेका छन् । खर्च कटाएर बाँकी रकम कापी, कलम र ड्रेस खरिदमा प्रयोग गरिएको बताइएको छ ।

५५ वर्षीय पिताम्बर दमै भन्छन्, “बाजे पुस्ताको निधनपछि ३५ वर्ष नबजेका बाजा हामीले मर्मत गरेर फेरि बजाउन थालेका हौं । अहिले त तेस्रो पुस्ताका स्कुले छोराहरूले नै परम्परा सम्हालेका छन् ।”

पूर्व वडा अध्यक्ष ओम खड्काका अनुसार, दोस्रो पुस्ताले बाजा बजाउन छोडेपछि पुतलीबजार नगरपालिकाले स्थानीय कला–संस्कृति संरक्षणका लागि २०७५/७६ सालमा ठूलीबेसीमा बाजा तालिम सञ्चालन गरेको थियो । “आज ती तालिमका बालकहरूले देउसी भैलोमा तालिमको सदुपयोगले परम्परा जोगाउनेदेखि अध्ययन खर्च जुटाउनेसम्म देखाएको जोश हेर्दा लाग्छ, हाम्रो प्रयास सफल भयो,” उनले भने ।

बालकहरूको समूहले केवल मनोरञ्जनका लागि नभई, हराउँदै गएको सांस्कृतिक परम्परालाई सम्हाल्ने जिम्मेवारी पनि लिएको छ । परम्परागत बाजाका तालमा गुञ्जिएको देउसी भैलोले ठूलीबेसी टोलदेखि स्याङ्जा बजारलाई तीन दिनसम्म उत्सवमय बनाएको थियो ।

परम्परा र आवश्यकता दुवैलाई जोड्ने यस्तो पहलले स्याङ्जामा तिहारको रौनक थप उज्यालो बनाएको थियो । यी बालकहरूको सन्देश स्पष्ट छ — “परम्परा जोगाऔं, आफैं सक्षम बनौं ।”

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update