Syangja Dainik Media
आनन्दआश्रमको गोष्ठीमा कवितासंग्रह ‘आक्रोश’ सार्वजनिक

स्याङ्जाको आँधीखोला गाउँपालिका–६ फापरथुममा साहित्यिक तथा वैचारिक गोष्ठीका साथै पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । आनन्दआश्रम ज्ञान केन्द्रको ३५औँ अध्याय अन्तर्गत आयोजित कार्यक्रममा केन्द्रका सदस्य हिमलाल पुरीद्वारा रचित कवितासंग्रह ‘आक्रोश’ सार्वजनिक गरिएको हो ।

पुस्तकको विमोचन वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले गरेका हुन् । ग्रामीण भेगमै निरन्तर भइरहेका यस्ता साहित्यिक गतिविधिले समाजमा चेतना र साहित्यिक जागरण फैलाउन सहयोग पुगेको उनको भनाइ थियो । कृतिमाथि अग्रज कवि चिन्तु गिरीले समीक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रमकै क्रममा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उत्कृष्ट छात्र–छात्रा पुरस्कारका लागि विद्यार्थीबीच ‘आँधीखोला’ शीर्षकमा कविता लेखन तथा वाचन प्रतियोगिता पनि गरिएको थियो । मूल्याङ्कनबाट पूर्णामृत भवानी मावि वालिङकी छात्रा स्मारिका अर्याल र प्रद्युम्नपनेरु मावि रङ्गेठाँटीका छात्र सम्पन्न पोखरेल उत्कृष्ट घोषित भएका छन् । उनीहरूलाई आगामी माघ २४ गते काठमाडौँमा पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

गोष्ठीमा हिमलाल पुरी, चिन्तु गिरी, हिमालयजंग बानियाँ, राजेन्द्र श्रेष्ठ, नारायण लम्साल, देशबन्धु आचार्य, श्यामप्रसाद ढुङ्गाना, त्रिलोचन ढकाल, दोलराज ढकाल, खेमनारायण लामिछानेलगायत साहित्यकार तथा सर्जकहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update