Syangja Dainik Media
पुतलीबजार नगर विज्ञ समिति गठन, संयोजकमा लम्साल

पुतलीबजार नगरपालिकाले विज्ञ समिति गठन गरेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १४ को उपदफा (२) र (३) मा भएको व्यवस्था अनुसार नगरपालिकाले विज्ञ समिति गठन गरिएको हो ।

विज्ञ समितिको संयोजकमा स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरतप्रसाद लम्साल मनोनित भएका छन् । समितिका संयोजक लम्साल मुक्तिनाथ विकास बैंकका संचालक र नेपाल शिक्षक संघ केन्द्रीय समितिका निर्वतमान उपाध्यक्ष, प्याब्सनका सल्लाहकार तथा हिसान स्याङ्जाका निर्वतमान अध्यक्ष पनि हुन् ।

SDO_SYJ ADS

विज्ञ समितिको सदस्यहरुमा लक्ष्मी स्मृति पुस्तकालय तथा सामुदायिक रेडियो स्याङ्जाका अध्यक्ष ध्रुवबन्धु पौडेल, नेपाल पत्रकार महासंघ स्याङ्जाका निर्वतमान उपाध्यक्ष भवानी अधिकारी, स्याङ्जाका अग्रणी अगुवा कृषक बोधराज अर्याल र विद्यालय तथा सहकारीका संचालक मनोज मल्ल मनोनित भएका छन् ।

समितिले शिक्षा, स्वास्थ्य, कृषि तथा पशु विकास, सूचना प्रविधि, वन वातावरण, महिला, दलित, बालबालिका र जेष्ठ नागरिकका विषयमा नगरपालिलाई आफ्नो विज्ञता अनुसार नीति निर्माण, निर्णयमा राय, सरसल्लाह र सुझाब दिनसक्ने पुतलीबजार नगरपालिकाले जनाएको छ ।

विज्ञ समितिका संयोजकसहित सदस्यहरु स्वास्थ्य तथा शिक्षा, कृषि एवं वातावरण, मानव अधिकार, बैंक तथा वित्तिय संस्था, सञ्चार प्रतिष्ठान, सहकारी तथा निजी विद्यालय संचालक, राजनैतिक दलमा आवद्ध रहेर सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरु रहेका छन् ।

स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको सुविधा उपयोग गर्दै पुतलीबजार नगरपालिकाको हालै सम्पन्न कार्यपालिकाको बैठकले उनीहरुलाई विज्ञ समितिको संयोजक र सदस्यमा मनोनयन गरिएको नगरपालिका प्रमुख (मेयर) तुलसीराम रेग्मीले बताए ।

यसैगरी, नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा नगरप्रमुख रेग्मी, उपप्रमुख देवी अर्याल र प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले शुभकामनासहित विज्ञ सदस्यहरुको राय, सल्लाह सुझावले समग्र पुतलीबजारको शैक्षिक, भौतिक, सामाजिक विकासका लागि सहयोग पुग्ने बताए ।

सोही कार्यक्रममा विज्ञ संयोजक भरतप्रसाद लम्सालले समितिले नगरपालिका र समुदायबीचको सेतु बन्दै नगरपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update