Syangja Dainik Media
पुतलीबजारको नगर सभा सुरु, नीति तथा कार्यक्रम सार्वजनिक

स्याङ्जाको पुतलीबजार नगरपालिकाको नगर सभा सुरु भएको छ । शनिबार पुतलीबजार नगरपालिका-१ सिटीहलमा नगर सभाको १७ औं बैठक सुरु भएको हो ।

नगर सभाको १७ औं बैठकमा नगरप्रमुख तुलसीराम रेग्मीले नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेका छन् । नगरप्रमुख रेग्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिकाको आर्थिक, सामाजिक, रुपान्तरण, सामाजिक न्यायको स्थापना र सुशासन कायम गर्नका लागि विगतका आर्थिक वर्षहरुका नीति तथा कार्यक्रमहरुले नगरबासीहरुको न्युनतम आधारभूत आवश्यकताहरु पूरा भएको बताइएको छ ।

नगरप्रमुख रेग्मीले `शिक्षा स्वास्थ्य र पूर्वाधार, समुन्नत पुतलीबजारको आधार´ भन्ने मुल नाराका साथ नेपालको संबिधान २०७२, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानूनले दिएको अधिकार क्षेत्रभित्र रही संघियताको कार्यान्वयन, सबलीकरण, स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवर्द्धन, नगरस्तरीय सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेमा मुख्य प्राथमिकतामा स्थानीय सरकार रहेको बताए ।

SDO_SYJ ADS

आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाको ५ वर्षे शैक्षिक रणनीतिसहित नगर शिक्षा योजना तयार गर्ने, विद्यार्थीहरुमा पठन तथा लेखन शैली विकास गर्न शिक्षण सिकाइमा सुधारका लागि रियल प्लान तथा आवधिक परीक्षाहरुमा जोड दिइने, आवश्यकताका आधारमा लोकसेवा/ शिक्षक सेवा आयोग तयारी कक्षा, कम्प्युटरलगायत ज्ञान सीपको विकास, करियर काउन्सिलिङ तथा सूचना प्रविधि सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्ने नीति रहेको छ ।

सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य संस्थाबाट गुणस्तरीय ल्याब सेवा, योग, ध्यान, व्यायाम, आयुर्वेदिक उपचार पद्धतिलगायत प्राकृतिक चिकित्सामार्फत नगरबासीहरुको स्वास्थ्य सुनिश्चितता गर्ने, नगरभित्रका लक्षित वर्ग कुमाल, बोटे, माझी, गन्धर्व र नगरपालिकाबाट `ग´ वर्गको अपाङ्गताको परिचयपत्र भएका नगरबासी, वादी, महिला स्वयंसेविका, सरसफाइकर्मीहरुको नि:शुल्क स्वास्थ्य बीमा, २ वर्षसम्मका बालबालिकालाई पोषण प्रवर्द्धन, जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण, नि:शुल्क आँखा शिविर, मोतियाबिन्दु शल्यक्रिया, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने नीति छ ।

यसैगरी, नगरक्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि हाइकिङको प्रबन्ध मिलाउने, यातायातको सहज पहुँचका लागि सडक स्तरोन्नति गर्ने, साइन बोर्ड राख्ने नीति रहेको छ । वडा कार्यालय तथा स्वास्थ्य चौकीसम्म पुग्ने सडकहरुमा सहज पहुँचका लागि स्तरोन्नतिका साथमा सडकलाई पक्की सडकको रुपमा निर्माण गरिनेछ ।

नगरपालिकामा हुने कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने, कृषि उत्पादनलाई कृषि पर्यटन साथै पर्यापर्यटनको विकास गर्ने नीति अवलम्बन गरिनेछ । कृषिलाई आयमुलक, आधुनिक र मर्यादित पेशा तथा उत्पादनशील व्यवसायको रूपमा विकास गर्ने, नगरलाई सुन्तलाको शहरको रूपमा विकास गर्न सुन्तला उत्पादन, गुणस्तरको व्यवस्थापन र बजारीकरणमा सहज हुने खालका कार्यक्रमहरु गरिनेछन् ।

कर्मचारी तथा जनप्रतिनिधिका लागि क्षमता तथा दक्षता अभिवृद्धिसङ्गै नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवामा सुशासन जवाफदेहिता तथा पारदर्शिताको प्रत्याभूत गराउन पालिकाको गतिविधिहरुलाई प्रविधिमैत्री बनाउँदै लगिनेछ । 

त्यस्तै, अपाङ्गका भएका व्यक्तिले संचालन गरेका उद्योग दर्ता तथा नवीकरणसहित सिफारिसमा शुल्क नलिइने, विभिन्न सीपमूलक, आयआर्जनमुलक, कृषि, पशुपालनसहित वाद्यवादन, युवा, महिला, बालबालिका, किशोरीलक्षित विभिन्नखालका जनसचेतनामुलक प्रशिक्षण तथा तालिम प्रदान गरिने नीति तथा कार्यक्रम रहेका छन् ।

सभामा नगरप्रमुख रेग्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक वडा एक खेलमैदान, १४ वटै वडामा व्यवस्थित भलिबल खेलमैदान, एक वडा एक पोखरी, एक वडा एक हरियाली पार्क, एक घर एक फलफूल बिरुवा, किसानसङ्ग नगरप्रमुख, उपमेयरसङ्ग महिला, महिला बालबालिका तथा जेष्ठ नागरिक, खानेपानी, सिंचाइ, पर्यटन प्रवर्द्धन, कृषि, पशु सेवा, श्रम तथा रोजगार, सहकारी, गरिबी निवारणका लागि लघु उद्यम विकास, संस्थागत विकास तथा सेवा प्रवाह, भौतिक पूर्वधार विकास, भवन आवास बस्ती तथा सहकारी विकास, सडक पुल तथा यातायात, जलस्रोत विद्युत तथा वैकल्पिक उर्जा, सूचना तथा संचार, वन वातावरण तथा विपद व्यवस्थापन समावेश गरिएका छन् । यसअघि नगरपालिकाले अवलम्बन गर्दैआएका नीति तथा कार्यक्रमलाई समेत निरन्तरता दिइनेगरी आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update