Syangja Dainik Media
स्याङ्जाका तीन पालिकाहरुको नीति तथा कार्यक्रम

स्याङ्जा जिल्लाका स्थानीय तहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । वालिङ् नगरपालिका र फेदीखोला गाउँपालिका बाँकी रहँदा स्याङ्जाका अन्य पालिकाले नीति तथा कार्यक्रम ल्याएका हुन् ।

कालीगण्डकीमा सबै नागरिकलाई नि: शुल्क स्वास्थ्य बीमा
कालीगण्डकी गाउँपालिकाले निःशुल्क नागरिक स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । गत आर्थिक बर्षबाट पालिकाका हरेक नागरिकको एक लाखसम्मको स्वास्थ्य बीमा गर्ने नीति लिएकोमा आर्थिक वर्ष २०८२/८३ को १७ औं अधिवेशनको नीति तथा कार्यक्रममा समेत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

घर घरमा स्वास्थ्य परीक्षण, विद्यार्थीको निःशुल्क परीक्षण, गर्भवतीलाई अस्पतालसम्म आउन नि:शुल्क एम्बुलेन्स सेवालगायतका नीति पालिकाले लिएको छ । सरकारी तलब भत्ता लिने सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीतिलाई कडाइ गरेको छ । विद्यालय वरिपरि मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्रीवितरणलाई पूर्णरूपमा रोक लगाउने नीति तथा कार्यक्रममा भनिएको छ ।

टोलटोलमा खेलमैदान निर्माण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई मासिक भत्ताको व्यवस्था यहाँ गरिनेछ । मगर भाषालाई गाउँपालिकाको दोस्रो कामकाजीको भाषाको रूपमा विकास गरिने भएको छ ।

बाँझो जमिन राख्ने कार्यलाई निरुत्साहित गर्न भूमि बैंकको स्थापना गरी सो मार्फत रोजगारी सिर्जना गर्ने नीतिलाई थप व्यवस्थित बनाइने छ भने बाँझो जमिन राख्दा जरिवाना तिर्नुपर्नेछ । कृषक वर्गीकरण गरी कृषक पेन्सन कार्यक्रम लागू गरिनेछ भने सुक्ष्म जैविक मलको कार्यक्रम सबै वडामा सुरुवात गरिनेछ ।
 
बिरुवामा पूर्वधार तथा कृषिमा प्राथमिकता 
बिरुवा गाउँपालिकाको १७ औं अधिवेशनमा पूर्वाधार तथा कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले पूर्वाधार विकासमा स्थानीय सडक तथा झोलुङ्गे पुल निर्माण र भवन तथा शहरी विकास, उर्जा, सञ्चारलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएका हुन् ।

उद्योग तथा पर्यटन, कृषि तथा पशुपंक्षी, सहकारी, गरिबी निवारण तथा रोजगारीका क्षेत्र नीति तथा कार्यक्रममा समेटिएको छ भने शिक्षा, संस्कृति, युवा तथा खेलकुद लैङ्गिक समानता र सामाजिक समावेशिकरण, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक सम्मानलगायत समावेश गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कुँवरले कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन एवं उद्यमशीलतालगायतका विषय समेटेर आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
 
भीरकोटमा पूर्वधारलाई प्राथमिकता 
भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पूर्वाधारलाई प्रथामिकता राखेको छ ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले रणनीतिक महत्त्वका मुख्य सडकहरू बयरघारी–सुन्दर बजार–मोहनडाँडा–हातेमालोचोक सडक र बयरघारी बिरुवा सडकको स्तरोन्नतिलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएका हुन् । सबै वडाका ग्रामीण सडकलाई स्तरोन्नति र सरसफाइ गरी बाह्रै महिना सवारी चल्ने बनाउने लक्ष्य नीति तथा कार्यक्रममा लिइएको छ ।

आँधीखोला तटबन्धन, कृषि औजार र सिंचाइमा ५० प्रतिशत अनुदान, भीरकोट पार्क, गडहरे गुफा, सुन्दरचौर, स्वरेक मैदानजस्ता पर्यटकीय स्थलको व्यवस्थापन, भीरकोट कृषि विकास परियोजनालाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै, विपद् व्यवस्थापन, बालमैत्री स्थानीय शासनको दिगोपना, फोहरमैला व्यवस्थापन, शैक्षिक गुणस्तर वृद्धि, गाई संरक्षण तथा गौशाला व्यवस्थापनलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

११ पालिका रहेको स्याङ्जामा अहिलेसम्म नौवटा पालिकाले नीति तथा कार्यक्रम ल्याएका छन् । अर्जुनचौपारीले भने बजेटसमेत प्रस्तुत गरेर पास गरिसकेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update