
नवराज पौडेल, स्याङ्जा । केही दिन अगाडि मात्र एसईईको परीक्षाफल प्रकाशित भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिजा राम्रो आएको छ ।
विद्यार्थी र अभिभावक दुवैमा यतिबेला अन्योल सिर्जना भएको हुन्छ । आफ्नो बाबुनानीलाई कुन विषय पढाउने र कहाँ पढाउने भनेर । हाम्रो देशको वर्तमान अवस्था हेर्ने हो भने सरकारले दुई प्रकारको शिक्षा पद्दति अपनाएको छ: सामान्य शिक्षा र प्राविधिक शिक्षा ।
सामान्य शिक्षातर्फ मानविकी, शिक्षा, व्यवस्थापन संकाय पर्दछन् भने प्राविधिक शिक्षातर्फ इन्जिनियरिङ, स्वास्थ्य सम्बन्धीका कार्यक्रम (फार्मेसी, नर्सिङ, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट), कृषि बाली, कृषि पशु विज्ञान जस्ता विषय पर्दछन् । सामान्य शिक्षा पढेको मानिससँग सीप हुँदैन भने प्राविधिक शिक्षा पढेको मानिससँग सीप हुन्छ । जसको हातमा सीप हुन्छ उसले सजिलैसँग रोजगारको अवसर प्राप्त गर्दछ ।
एसईई पछिको उच्च शिक्षा विद्यार्थीहरुले प्राविधिक शिक्षा नै पढ्दा उत्तम हुन्छ । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने एसईई पछिको प्राविधिक शिक्षा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) ले सञ्चालन गर्दै आएको छ । देशभरिमै सिटीइभिटीका ६६ वटा आंगिक संस्थाहरू छन् भने स्याङ्जामा आँधीखोला बहुप्राविधिक शिक्षालय वालिङ -१३ र किसान बहुप्राविधिक शिक्षालय चापाकोटमा रहेका छन् ।
आँधीखोला बहुप्राविधिक शिक्षालय वालिङ -१३ मा डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी र डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेर दुई विषयको अध्यापन हुने गरेको छ ।
शिक्षालयमा दक्ष प्रशिक्षक, व्यवस्थित वर्कशप, ड्रोइङ ल्याब, कम्प्युटर ल्याब, व्यवस्थित पुस्तकालय, शान्त वातावरण रहेको छ । अहिलेको २१ औं शताब्दीमा प्राविधिक शिक्षा बिना मानिसको जीवन अधुरो हुन्छ । अहिले झन् विश्व नै प्रविधिले गर्दा एउटै छानो मुनि रहेको बेलामा प्राविधिक विषयको झन् महत्व बढेको छ । प्राविधिक शिक्षा हासिल गरेपछि विद्यार्थीले सजिलैसँग रोजगारको अवसर प्राप्त गर्दछन् ।
साथै स्व:व्यवसाय, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, विभिन्न निर्माण कम्पनी, आइटी कम्पनी, नेपाल सरकारको पाँचौं तहलगायतको क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्दछन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले मध्यम वर्गीय परिवार र मध्यम वर्गीय विद्यार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ ।
आँधीखोला बहुप्राविधिक शिक्षालय स्याङ्जाको मध्य भागमा अवस्थित रहेको र यहाँ आएर आफूले पढ्न चाहेको विषय अध्ययन गर्न सकिनेछ । वालिङ नगरपालिकाद्वारा प्रत्येक वडाबाट २/२ जना विद्यार्थीलाई नि:शुल्क पढाउने व्यवस्था समेत गरिएको छ ।
(नवराज पौडेल आँधीखोला बहुप्राविधिक शिक्षालय वालिङ -१३ का प्रोग्राम कोडिनेटर हुन् । )