Syangja Dainik Media
पुतलीबजार नगरपालिकामा बुधबार शोक बिदा

स्याङ्जाको पुतलीबजार नगरपालिकामा बुधबार शोक बिदा दिइएको छ । नगरपालिकाको सरसफाइ केन्द्रमा कार्यरत कर्मचारी गिता शुवाको असामयिक निधन भएपछि नगर स्तरीय निर्णयअनुसार बुधबार नगरपालिकाभर शोक बिदा दिइएको हो ।

पुतलीबजार नगरपालिका–१४ लामागे स्थायी घर भई सरसफाइ केन्द्रमा कार्यरत ३९ वर्षीय शुवाको सोमबार कार्यालय समयमा कार्य गरिरहेकै अवस्थामा हृदयघातका कारण निधन भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिए । शुवा विगत छ वर्षदेखि नगरपालिकामा कार्यरत थिइन् ।

नगरप्रमुख तुलसीराम रेग्मीले सूचना जारी गर्दै शुवाको निधनमा बुधबार नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरूमा शोक बिदा दिइने जानकारी गराएका हुन् । यद्यपि सम्बन्धित वडा र स्वास्थ्य केन्द्रबाट अत्यावश्यक सेवा लिनु परेमा नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्दै रेग्मीले आवश्यक सेवाका लागि सहजीकरण गरिने बताए ।

दिवंगत गिताका श्रीमान् र एक छोरा रहेका छन् । नगरपालिका परिवारले शुवाको निधनप्रति समग्र नगरपालिका परिवार शोकमा परेको जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update